प्रदेश १ मा पाँच सदस्यीय मन्त्रिमण्डल गठन हुँदै

विराटनगर । प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकिकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले पा“च सदस्यीय मन्त्रिपरिषद गठन गर्ने भएको छ ।

मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकिकृत समाजवादीको तर्फबाट १÷१ जना गरी ५ सदस्यीय मन्त्रिपरिषद गठन तयारी रहेको राईले बताउनुभयो । उहाँले दिउँसो ३ बजे सपथ ग्रहणका लागि प्रदेश प्रमुख कार्यालय जाने तयारी गरेको सुनाउनुभयो ।

चार वटै दलले मन्त्री छान्नका लागि आ–आफ्नो दलको बैठक बसिरहेका छन् । दलको बैठकपछि बस्ने गठबन्धन दलको निर्णय मुख्यमन्त्रीसहित मन्त्रिहरुमा नियुक्तिका लागि नाम सिफारिस गर्ने राईले बताउनुभयो ।

मन्त्रीहरुमा कांग्रेसबाट उप नेता हिमाल कार्की र प्रमुख सचेतक केदार कार्कीमध्ये एक जना, माओवादी केन्द्रबाट दलका नेता इन्द्रबहादुर र प्रमुख सचेतक झलकबहादुर मगरमध्ये एक जना, एकिकृत समाजवादीबाट उपेन्द्र घिमिरे र सरिता थापामध्ये एक जना र जनता समाजवादी पार्टीबाट जयराम यादव मन्त्री बन्ने देखिएको छ ।

कांग्रेस संसदीय दलले मन्त्रीको नाम छनौटका लागि नेता राजिव कोइरालालाई जिम्मेबारी दिएको छ । कोइरालाले संसदीय दलमा काम गरेका र सबै समेटेर अघि बढ्ने व्यक्तिलाई मन्त्रीमा पठाउन छलफल गरिरहेको बताउनुभयो । संसदीय दलमा गरेको काम र लोकप्रियताका आधारमा प्रमुख सचेतक कार्की कांग्रेसबाट मन्त्री बन्ने देखिएको छ ।

माओवादी केन्द्रलाई प्रदेशमा राम्रो काम गरेर जनताको मन जित्तै पार्टीको लोकप्रियता बढाउनका लागि अनुभवी नेतालाई मन्त्रीमा पठाउने तयारी गरेको छ । यस आधारमा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको नै मन्त्री बन्ने सम्भावना बलियो छ ।

एकिकृत समाजवादीमा छलफल गरेर मेची–कोशी र सगरमाथालाई समेट्ने गरी मन्त्री बनाउने तयारी गरेको नेता राईले बताउनुभयो । यसआधारमा मेचीबाट झलनाथ खनाल निकट प्रदेश सांसद खिनुलङवा लिम्बूलाई मन्त्रीमा लग्ने सम्भावना रहेको एकिकृत समाजवादीका प्रदेश सांसदको भनाई छ ।

Back to top button