पार्टी सभापति देउवाको कारण कांग्रेस अनिर्णय बन्दी बन्यो : रामचन्द्र पौडेल

मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाका कारण कांग्रेस अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले महाधिवेशन गर्न नसक्ने र सत्तामा पुगेर पनि तीन महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको आरोप लगाउनुभयो ।

संविधानको धारा २८१ अनुसार समयमा कांग्रेस महाधिवेशन गर्न नसकेर कांग्रेसले नै कानुन नमानेको भन्दै आगामी निर्वाचनमा कांग्रेसले भाग लिन सक्ने कानुनी हैसियत रहन्छ कि रहँदैन भन्ने अवस्था आएको बताउनुभयो ।

पार्टीको केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमा बस्न नसकेर बुढानिलकण्ठमा बस्ने गरेको भन्दै उहाँले सभापति देउवाकै कारण नेविसंघ, तरुणदल, महिला संघ लगायतका संगठनहरु कुन अवस्थामा पुगे भन्ने प्रश्न गर्नुभयो ।

नेता पौडेलले कांग्रेसको पुस्तान्तरणको नभई रुपान्तरणको आवश्यक रहेकोमा जोड दिदै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै कांग्रेसलाई गुटबन्दीबाट मुक्त बनाउन आग्रह गर्नुभयो ।

यसैबिच नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिन सुझाव दिनुभएको छ । राजनीतिक दलहरूसँग सेटिङ गरेर न्यायालयलाई दूषित बनाएको भन्दै छिटोभन्दा छिटो पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई सुझाव दिनुभएको हो ।

नेता पौडेलले आफ्नो स्वार्थका लागि दलहरुले प्रधानन्यायाधीशसँग ‘सेटिङ’ गरेको भन्दै आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो, ‘मन्त्री, राजदूत र आयुक्त दिन्छु भन्दै यो देशका प्रधानमन्त्रीहरुले आफूले संवैधानिक ऐन फेरेको, संवैधानिक अंग ध्वस्त पार्दै संविधान मिचेको काममा प्रधानन्याधीशलाई नै साक्षी राख्ने काम गरे।’

Back to top button