प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त

विराटनगर । प्रदेश १ मा नेकपा (एकिकृत समाजवादी) का नेता राजेन्द्र राई मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीमा सपथ ग्रहणका लागि २ बजेको समय निर्धारण गरेको तर राईले ३ बजे सपथ ग्रहणका लागि जाने बताउनुभयो ।

प्रदेश १ का एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट राजिनामा दिने घोषणा गरेको पत्र बुझाएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दावी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिनुभएको थियो । प्रदेश प्रमुखले दिएको समय सीमा समाप्त भएपछि मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी बिमल पौडेलले बताउनुभयो ।

सरकार गठनका लागि आह्वान गरिएपछि तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दावी पेस गरेको पत्र बुझाएका थिए ।

राई मुख्यमन्त्रीमा नियुक्त भए पनि पाँच दलीय गठबन्धनलाई मन्त्री छान्न सकस परेको छ । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडानमा छन् ।

यता कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उप नेता हिमाल कार्कीलाई दिनुपर्ने अडानमा छन् ।

जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय नियश्चत भएको गठबन्धन दलका एक नेताले बताउनुभयो ।

यस्तै, एकिकृत समाजवादीका प्रदेश सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालय दिने सम्भावना छ । लिम्बू प्रदेश १ मा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल निकट एक मात्र प्रदेश सांसद हुनुहुन्छ ।

Back to top button