प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका राई को हुन् ?

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त राजेन्द्रकुमार राई बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईको कोखबाट २०२७ साल असार १५ गते भोजपुरको साविक किमलुङ गाविसको सुर्के र हालको षडानन्द नगरपालिका १० मा निम्न वर्गीय परिवारमा जन्मिनु भएको छ । नरेन्द्रको तीन भाई छोरा र एक छोरीमध्येका कान्छा छोरा राजेन्द्र हुनुहुन्छ । राजेन्द्रको उमेर एक वर्षको हुँदा उहाँको परिवार सुर्केबाट भाजेपुरको साविकको देउराली गाविस हाल षडानन्द नगरपालिका १० झ्याउ पोखरी बजारका स्थायी वासिन्दा हुनुहुन्छ ।

स्थानीय शारदा माध्यमिक विद्यालयबाट एसएलसी उतिर्ण गरेका राजेन्द्रले काठमाडौं रत्नराज्य लक्ष्मी क्याम्पसबाट अंग्रेजी, अर्थ शास्त्र र राजनीति शास्त्रमा प्रविणता प्रमाण पत्र तह र अंग्रेजी र अर्थ शास्त्र लिएर स्नातक उर्तिण गर्नुभएको छ । उहाँले प्राइभेटबाट राजनीति शास्त्रमा स्नात्कोत्तर गरेका हुन् । अर्थ शास्त्र र अंग्रेजी विषयमा स्नात्कोत्तर अध्ययन गरेका उनले राजनीतिक व्यस्तता र राजनीतिक बन्दी भएका कारण उतिर्ण गर्न सक्नुभएन ।

राजेन्द्रले गाउँकै विद्यालयबाट विद्यार्थी राजनीतिमा होमिनुभएको थियो । एमालेका भातृ संगठन अनेरास्ववियूको विद्यालयको प्रारम्भिक कमिटीको सचिवबाट राजनीतिक जीवन सुरु गरेका उहाँले अनेरास्ववियूमा लगातार २० वर्षसम्म काम गर्नुभयो । अनेरास्ववियूको २०५७ देखि ०५९ र ०५९ देखि ०६१ सम्म निरन्तर दुई कार्यकाल अध्यक्ष भइसक्नु भएको उहाँले अनेरास्ववियूको विद्यालयको प्रारम्भिक कमिटिमा २÷२ कार्यकाल सचिव र अध्यक्ष, रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रारम्भिक कमिटी सदस्य, उपाध्यक्ष, संयोजक, काठमाडौं जिल्ला कमिटी सदस्य, बागमति अञ्चल कमिटी सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय प्रचार विभाग प्रमुख, केन्द्रीय सचिव हुँदै २०५५ सालमा केन्द्रीय महासचिवमा निर्वाचित हुनु भएको थियो ।

रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियूमा सदस्य र सभापतिमा निर्वाचित भएर विद्यार्थीको हकहितका लागि काम गर्ने अवसर पाउनुभएको थियो । अनेरास्ववियूको अध्यक्ष रहेको बेलामा राजेन्द्रले शाही शासनको विरुद्धमा र गणतन्त्रको पक्षमा सबभन्दा पहिले केन्द्रीय कमिटीको बैठक र राष्ट्रिय सम्मेलनबाट निर्णय गरेर आन्दोलन सुरु गरेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनुभयो ।

उहाँले काठमाडौं जिल्ला कमिटीबाट एमाले पार्टीको राजनीति सुरु गरेको बताउनुभयो । पार्टीको २०६८ मा सम्पन्न आठौं महाधिवेशनबाट एमाले विभाजनसम्म एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा काम गर्दै आएको र हाल नेकपा (एकिकृत समाजवादी)को पनि केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरिरहनुभएको छ ।

उहाँ एक दलीय पञ्चायत शासनको विरुद्धमा लागेकाले ७ महिना केन्द्रीय कारागारमा, तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाही शासनको विरुद्धको आन्दोलनमा लाग्दा ४ महिना प्रहरी तालिम केन्द्रमालगायत दर्जनौं पटक बन्दी जीवन बिताउनु भएको थियो । २०६० सालमा माओवादीले घरबाटै एक हप्तासम्म अपहरण गरेर राखेको उहाँले बताउनुभयो ।

२०६० सालमा सँगै अनेरास्ववियूको विद्यार्थी राजनीतिमा होमिएकी काठमाडौंको ताहाचल घर भएकी शोभा पाठकसँग विवाह बन्धनमा बाँधिएका राजेन्द्रलाई हालसम्म सन्तान प्राप्ती भएको छैन । आफू रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियूको सभापति हुँदा पाठक सह–सचिवमा निर्वाचित भएको र त्यसै क्रममा मन मिलेपछि विवाह बन्धनमा बाँधिएको राजेन्द्रले बताउनुभयो । पत्रकारितामा स्नातक उतिर्ण पाठकले विद्यार्थी राजनीतिसँगै जीवन गुजाराका लागि काठमाडौंको छउनीमा मन्टेस्वरी स्कूल सञ्चालन गर्दै आउनुभएको छ ।

राजेन्द्रले २०७४ सालको सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरको १ (क) बाट जनप्रतिनिधिमा निर्वाचित भएर एकिकृत समाजवादीको नेताको हैसियतमा हाल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारको जिम्मेबारी निर्वाह गरिसकेको अनुभवी नेता हुनुहुन्छ ।

उनले पोर्चुगल, डेनमार्क, स्पेन, बेल्जियम, स्विडेन, अल्जेरिया र भारतको भ्रमण गरेका छन् । विचारको खेती र आयु नामक विद्यार्थी आन्दोलनसम्बन्धी दुई वटा पुस्तक लेखेर प्रकाशित गरिसकेका उहाँले ‘शिक्षाको अँध्यारो’ नामक पुस्तक प्रकाशनको तयारीमा रहेको बताउनुभयो ।

Back to top button