प्रदेश १ मा चार जनामन्त्री र एक राज्यमन्त्री नियुक्त

विराटनगर । प्रदेश १ मा पाँच दलीय गठबन्धनका चार जना मन्त्री नियुक्त भएका छन् । आर्थिक मामिलामन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो नियुक्त हुनुभएको छ ।

यसअघि पनि तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आङ्बोले आर्थिक मामिला मन्त्रालय २ वर्ष १० महिना सम्हाल्नुभएको थियो ।

प्रदेशसभामा निर्वाचित भएर आएपछि २०७४ फाल्गुन ३ गते आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका आङ्बोलाई तत्कालिन मुख्यमन्त्री राईले मन्त्रीबाट २०७७ पुस ११ गते बर्खास्त गर्नुभएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेसका उपनेता हिमाल कार्की, आन्तरिक मामिला मन्त्रालयमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सामाजिक विकास मन्त्रीमा जनता समाजवादी पार्टीका नेता जयराम यादव नियुक्त हुनुभएको छ । सामाजिक विकास राज्यमन्त्रीमा विष्णुमाया तुम्बाहाम्फे नियुक्त हुनुभएको हो ।

नेकपा (एकिकृत समाजवादी) का नेता राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री राईको अध्यक्षतामा ६ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको हो ।

मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने तयारी गरिएकोले अहिले केही बेरमा सपथ ग्रहण हुनेछ ।

प्रदेश १ का एमालेका सांसद भीमप्रसाद आचार्यले हिजो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट राजिनामा दिने घोषणा गरेको पत्र बुझाएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दावी पेस गर्न आज १ बजेसम्मका लागि समय दिनुभएको थियो ।

सरकार गठनका लागि आह्वान गरिएपछि तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दावी पेस गरेको पत्र बुझाएका थिए ।

Back to top button