पहिले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता : मुख्यमन्त्री राई

विराटनगर । नवनियुक्त मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब पहिले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएको छ । मुख्यमन्त्रीमा पद तथा गोपनियताको सपथ ग्रहणपछि मंगलबार सञ्चारकर्मीस“गको कुराकानीमा मुख्यमन्त्री राईले कार्तिक २३ गते बस्ने प्रदेशसभा बैठकमा सम्भव नभए कार्तिक २५ वा २६ गतेसम्ममा विश्वासको मत लिने बताउनुभएको हो ।

उहाँले काम र सरकारमा सहभागी गठबन्धन दलको आवश्यकताका आधारमा मन्त्रालयको संख्या केही बढाएर मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभयो । मुख्यमन्त्री राईले राम्रो गर्ने, नराम्रो नगर्ने, नाम राख्ने र काम गर्ने प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

प्रदेशले अहिलेसम्म नाम पाउन नसकेकोले त्यो नाम हामीले दिन्छौं,’ उहाँले भन्नुभयो, ‘बजेट सानो भएकोले प्रदेशमा विकासको कामहरु हुन नसकेकोले वैदेशिक, संघीय सरकारलगायतबाट अनुदान लिएर र बजेटका नयाँ स्रोतहरु खोजेर बजेटको दायरा बढाएर कामलाई अघि बढाउँछौं ।’

मुख्यमन्त्री राईले सिमित बजेटलाई सही प्राथमिकता दिएर विनियोजन गर्ने बताए । चालु आर्थिक वर्षका लागि अर्को बजेट ल्याउने सम्भावना रहेको उहाँले बताउनुभयो ।

भ्रष्टाचारको अवस्थालाई प्रदेशबाट अन्त्य गर्ने, शान्ति सुरक्षा कायम गर्ने र सुशासन दिने सरकारको प्राथमिकता रहने उनले बताए । निर्वाचन क्षेत्र विकास र पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकतामा राखेर सांसदलाई बलियो बनाउने काम गर्ने उहाँको भनाई थियो ।

Back to top button