आर्या न्यूरो अस्पताल आजदेखि सञ्चालनमा

विराटनगर । विराटनगर–३ कञ्चनवारी चोक स्थित आर्या हस्पिटल आजदेखि सञ्चालनमा आएको छ । १५ करोड लगानीमा निर्माण गरिएको आर्या न्यूरो अस्पताल सुविधा सम्पन्न र आधुनिक रहेको छ ।

आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अलाईड साइसेन्स प्रा.लि. ले प्रदेश सरकार मातहतको सम्बन्धनमा २५ शै्याको अस्पताल आजदेखि सञ्चालनमा ल्याएको हो ।

न्यूरो सर्जरीका लागि प्रशिद्ध डा. पंकज नेपाल अस्पतालका प्रबन्धक निर्देशक र डा. अर्जना चौधरी अध्यक्ष रहेको यस अस्पतालको व्यवस्थापनको जिम्मेवारी दिनेश ठाकुरले लिनुभएको छ ।

अस्पतालका प्रबन्धक निर्देशक डा. नेपालले न्यूरो सर्जरीको क्षेत्रमा नयाँ आयाम थपिने गरि उपचार सेवा प्रवाह गरिने दावी गर्नुभएको छ । २५ शै्याबाट सञ्चालनमा ल्याइएको अस्पताललाई चाँडै ५० शै्यामा विस्तार गरिने निर्देशक डाक्टर नेपालले जानकारी दिनुभयो ।

विराटनगरमा टाउकोसँग सम्बन्धि जटिल शल्याक्रिया विशेष गरि न्यूरो अस्पतालमा मात्रै हुँदै आएको थियो । डा.उपेन्द्र देवकोटासँगै काम गरेर आउनुभएका डाक्टर नेपालले आफ्नै लगानीमा नयाँ अस्पताल खोलेपछि विरामीले थप सुविधा पाउने विश्वास गर्न सकिन्छ ।

अस्पतालमा न्यूरो सम्बन्धी सम्पूर्ण उपचार, हार्डजोर्नी, नाक कान घाँटी, दन्त चिकित्सकीय सेवा, जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जरी, फिजिसियन, फिजियोथेरापी, आईसीयू तथा भेन्टिलेटर, एमआरआई तथा सिटी स्क्यान सुविधा उपलब्ध रहेको छ ।

अस्पतालले प्रारम्भिक चरणमा १२ जना मेडिकल अफिसर, ११ जना नर्सलाई खटाउने भएको छ । सबै क्षेत्रका गरेर एकसय जनालाई रोजगारी दिइने व्यवस्थापक दिनेश ठाकुरले जानकारी दिनुभयो ।

Back to top button