गच्छदारले पार्टी उपसभापतिमा उम्मेदवारी दिने, विधान परिमार्जनमा जोड

विराटनगर । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

आज विराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उहाँले आसन्न पार्टीको महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने बताउनुभएको हो ।

पार्टीभित्र नेतृत्व तहबाट विभेद भएको भन्दै नेता गच्छदारले पार्टीको विधान नियमावली र निर्देशनलाई एकातिर पन्च्छ्याएर खासखास ब्यक्तिहरुको रुचि र छनौटलाई आधार मानेर स्थानीय तहमा नेतृत्व चयन गरिएको बताउनुभयो ।

पार्टीका कार्यकर्ताहरुलाई नै काखापाखाको पूर्वाग्रही व्यवहार गरिएको गुनासाहरु आइरहेको भन्दै उहाँले कांग्रेसको वर्तमान विधान नियमावली र निर्देशिका नै एकांगी , खास उद्देश्यबाट प्रेरित र पूर्वाग्रही रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जति प्रजातान्त्रिक हुनुपथ्र्यो, उल्टै अनुदार बन्यो, खास समूहलाई लक्षित गरि जथाभावि चलाउँदा पार्टीको विधानको स्वरुप उँटजस्तो बन्न पुगेको छ ।’

आफ्नो स्वार्थ अनुकुलका प्रावधानहरु विधानमा आवश्यक तवरले राखेर निष्ठावान कार्यकर्ताहरुलाई तहगत निर्वाचनबाटै बञ्चित गर्ने उद्दश्यले विधानमा राखेको व्यवस्था पार्टी पंक्तिभित्र नै तिब्र आलोचित छ ।

उहाँले गहिरो बन्दै गएको गुटबन्दिले पार्टीलाई दिनदिनै कमजोर बनाउँदै लगेको भन्दै विद्यमान विधानलाई परिमार्जन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले पार्टीको निर्वाचन गर्दा सभापति र केन्द्रीय सदस्यहरुको निर्वाचन एकैसाथ सम्पन्न गर्ने संवैधानिक व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

‘निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट केन्द्रीय कार्यसमितिको निर्णय अनुशार पदाधिकारीहरु समेतको नियुक्त हुने प्रावधान राखिनुपर्छ’ उहाँले भन्नुभयो ‘यसो गर्दा गुट- उपगुट र स्वार्थ समूहको अन्त्य हुनेछ ।’

नेपाली कांग्रेसलाई बलियो बनाउनकै लागि आफूले तात्कालिन आफ्नो पार्टीलाई एकिकरण गरेको स्मरण गर्दै उहाँले आफू कुनै गुट बिशेषलाई साथ दिन र लिन नआएको प्रष्ट्याउनुभयो ।

यस्तै कांग्रेस उपसभापति गच्छदारले शक्ति सन्तुलनको संवैधानिक व्यवस्थामा कार्यपालिकाको तर्फबाट अनावश्यक हस्तक्षेप गरिएकाले अहिलेको समस्या सृजना भएको बताउनुभएको छ ।

संवैधानिक अंगहरुमा भएका नियुक्तिमा गरिएका राजनितिक त्रुटी पनि यसको कारण हुनसक्ने भन्दै उहाँले संवैधानिक अंगहरुलाई स्वतन्त्र रुपमा व्यवसायीक कार्य गर्ने क्रममा कतैबाट हस्तक्षेप हुन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ हस्तक्षेप हुनुहुन्थेन तर पछिल्लो निर्वाचनपछि बनेको बलियो सरकारले यस मान्यताको उलङ्घन गर्दा समस्या आएको हो ।’ अहिलेको समस्याले शक्ति पृथकिकरण र विधिको शासनको सिद्धान्त मान्ने सबैलाई चिन्तित बनाएको भन्दै उहाँले राजनितिक दलका शिर्ष नेताहरु गम्भिर हुन आवश्यक रहेको बताउनुभयो ।

Back to top button