सौर्य एयरलायन्सले कात्तिक २२ गतेदेखि विराटनगर– भैरहवा सीधा उडान गर्ने

काठमाडौं । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ ।

एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको बताउनुभयो । विराटनगर प्रदेश नं १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो । यी शहरबीच यसअघि सीधा हवाई उडान थिएन ।

यी दुई शहरबीच हवाई यात्राका लागि ५३ मिनेट लाग्ने र यसको दूरी २१५ नटिकल माइल रहेको एयरलायन्सका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । विराटनगर र भैरहवाबीच हवाई उडान गर्ने पहिलो सौर्य एयरलायन्स भएको र यसबाट प्रदेश नं १ र लुम्बिनी प्रदेशका बासिन्दा लाभान्वित हुने उहाँको भनाइ रहेको छ ।

लुम्बिनीमा भगवान गौतमबुद्ध जन्मस्थलको भ्रमणमा बर्सेनि पूर्वी नेपालको काँकडभिट्टा र विराटनगरबाट हजारौँ भारतीय, भूटानी र म्यानमारका पर्यटक भित्रिने गरेका छन् । उनीहरु यसअघि हवाईमार्गबाट काठमाडौँ पुगेर कम्तीमा तीन घण्टा पर्खेर फेरि अर्को जहाजबाट भैरहवा पुग्ने गरेका थिए ।

Back to top button