प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, गठबन्धनमा कुनै समस्या नरहेको जिकिर

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभएको छ ।

स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धन पुरै समय रहने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ। गठबन्धन चुनावसम्मै जान्छ ।’यस्तै प्रधनमन्त्री देउवाले नेपालप्रति छिमेकी मुलुक भारतको सदभाव रहेको बताउनुभएको छ ।

सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नुभएका उहाँले नेपालप्रति भारतको सदभाव देखिएको प्रतिकृया दिनुभयो ।

उहाँले युरिया मल भारतमा आवश्यक हुँदाहुँदै पनि नेपाललाई दिएकोमा धन्यवाद दिँदै भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणमा आउन आग्रह गर्नुभयो ।

यस्तै सम्मेलनका दौरान बेलायतका रक्षामन्त्रीसँग गोर्खा सैनिकका समस्या समाधानबारे छलफल गरेको जानकारी दिनुभयो । बेलायतको रक्षामन्त्रीको नेपालप्रति धेरै नै सदभाव रहेछ भन्दै प्रधानमन्त्री देउवाले अझै समस्या रहेका बिषयमा नयाँ राजदूत आएपछि समाधानका विषयमा छलफल गर्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको भेटबारे जानकारी दिँदै देउवाले भन्नुभयो बाइडेनसँग भेट हुँदाखेरि टोपी लगाएर गएकाले चिनिहाले बाइडेनले नेपाल देश मलाई खुब मन पर्ने बताएको उहाँले जानकारी दिनुभयो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नेपाललाई पूरा सहयोग गर्ने बताएको देउवाले जानकारी गराउनुभयो । प्रधानमन्त्रीको स्वागतमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल त्रिभुवन विमानस्थल पुग्नुभएको थियो ।

प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ग्लास्गोतर्फ प्रस्थान गर्नुभएको थियो ।

Back to top button