गठबन्धनलाई अझ बलियो बनाउँछौं : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताउनुभएको छ ।

पार्टीको मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताउनुभयो ।अध्यक्ष नेपालले सङ्घीय संसद्को चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने जनाउँदै भने, अर्ली इलेक्शन नहुने जिकिर गर्नुभयो ।

उहाँले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै जतिखेर आए पनि पार्टीमा ढोका खुला रहेको बताउनुभयो । अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा–टुक्रा हुन्छ भन्दै अहङ्कार अब धेरै दिन नटिक्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा समाजवादीका पोलिटव्यूरो सदस्य डा राजेन्द्रमान श्रेष्ठले आफ्नो कार्यकालमा शिलान्यास र उद्घाटन नगरे पनि प्रदेश सरकारबाट ल्याएको बजेटले जनताको पक्षमा काम गरेर देखाएको बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य ध्रुवराज विष्टले नेकपा समाजवादीमा जनलहर बढेको जनाउँदै आगामी चुनावसम्ममा बलियो भएर पार्टी अगाडि बढ्ने बताउनुभयो ।

Back to top button