तिहारपछि प्रदेशको नामाकरणको बिषयलाई छलफलमा लगिन्छ : मुख्यमन्त्री राई

भोजपुर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले तिहार पछि प्रदेशको नामाकरणको विषयलाई छलफलमा लगिने बताउनुभएको छ ।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले दलहरूसँगको सहमतिमा नै प्रदेशको नामको टुङ्गो लगाउने बताउनुभयो ।

प्रदेश १ को नाम पहिचान, बहुपहिचानका आधारमा सहमतिमा छलफलबाट टुङ्गो लगाउने भन्दै उहाँले सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरेर टुङ्गो लगाउने बताउनुभयो ।

अघिल्लो सरकारले प्रदेशको नाम राख्न कुनै पहल नै नगरेको आरोप लगाउँदै मुख्यमन्त्री राईले प्रदेशको नामका लागि दुई तिहाइ मत आवश्यक पर्ने भएकाले दलका प्रमुख र सांसदहरूसँग छलफल गरिने बताउनुभयो ।

मुख्यमन्त्री राई तिहार मनाउन तुम्लिङटार विमानस्थल हुँदै गृह जिल्ला भोजपुरको षडानन्द नगरपालिका ११ पुग्नुभएको छ ।

Back to top button