यस्तो रह्यो राष्ट्रपति र उपराष्ट्रपतिको भाईटिका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनुभएको छ । बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उहाँले कान्छो भाइ डेगेन्द्रलाई सप्तरंगी टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीको माला लगाइ कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभएको हो । उहाँले उपहार स्वरुप भाईलाई नेपाली ढाकाटोपी पहिराई दिनुभएको छ ।

त्यसअघि राष्ट्रपति भण्डारीले विधिपूर्वक पूजा अर्चना गर्नुभएको थियो । त्यसैगरी उहाँले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाइ दुबो, मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिनुभएको छ ।

यसैगरि उपराष्ट्रपति नन्दबहादुर पुनले आफन्त बहिनीहरुबाट भाइटीका ग्रहण गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट«पति निवासमा बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा नै उहाँले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभएको छ ।

टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाइ कटुस, ओखर र मिठाई खुवाउनुभएको थियो । उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा प्रदान गर्नुभएको घर्तिमगरले जानकारी दिनुभएको छ ।

Back to top button