तिहार सकिएसँगै छठपर्वको तयारी

निशा दाहाल,

विराटनगर । तराईका क्षेत्रमा धुमधामका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै छठ पूजाका सामग्री किनमेल, घाट सरसफाईको चटारो बढेको छ ।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भीड बजारमा निकै देखिन्छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।

बिशेष गरि नाङ्लो, कुनिया र ढाकीहरुको विक्रि उच्च देखिन्छ । यस्तै अस्ताउँदो र उदाउँदो सूर्यलाई पानीमा बसेर अर्घ्य दिने चलन रहेको यस पर्वका लागि जलाशय किनारको सरसफाई र सिंगार गर्ने क्रम बढ्दै गएको छ ।

सामूहिक रुपमा मनाइने यस पर्वका लागि घाट सजावटमा पनि एक स्थान र अर्को स्थानमा अघोषित प्रतिष्पर्धा जस्तै देखिन थालेको छ । त्यसैले घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापन गर्न थालिएको छ ।

चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने विश्वास राखिने यो छठ पर्वलाई कठोर व्रतको रुपमा समेत लिने गरिएको छ । भाकल गरेर निष्ठापूर्वक यो व्रत बस्दा मनोकामना पूरा हुने जनविश्वास रहि आएको छ ।

भोलीदेखि सुरु हुने यो पर्व बुधबार साँझ अस्ताउँदो सूर्य र बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ ।

Back to top button