चियापान तथा शुभकामना कार्यक्रमका लागि एमाले अध्यक्ष ओली विराटनगर आउँदै

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर आउँदै हुनुहुन्छ । नेकपा एमाले मोरङले चाडपर्वहरुको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागि हुन अध्यक्ष ओली विराटनगर आउन लाग्नुभएको हो ।

ओली विहान ११ बजे यति एयरलाईन्सबाट विराटनगर आउने नेकपा एमाले मोरङले जनाएको छ । दुई चरणमा विभाजन गरिएको कार्यक्रममा बिहान ११ देखि २ बजेसम्म प्रशिक्षणात्मक कार्यक्रम हुनेछ ।

पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने यो सत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने छ । यस्तै दिउँसो ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनितिक दलका नेता, उद्योगी व्यवसायी, नागरिकसमाज, बुद्धिजीवि, पेशा व्यवसायी, सुरक्षाकर्मीलगायतका सवै क्षेत्रको अतिथिहरुको सहभागिता रहने नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो ।

नेकपा एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ७ हजार जना भन्दा बढीको सहभागिता रहने बताइको छ । शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि भई अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

नेकपा एमाले मोरङले चाडपर्वहरुको अवसर पारेर हरेक वर्ष तिहार अघि गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रम यस वर्ष तराईबासीहरुको महान पर्व छठको पूर्व सन्ध्यामा आयोजना गरेको हो ।

Back to top button