कांग्रेससँग टाँसिएका दलहरु उसका छाते, ढोके, हुक्के मात्र हुन् : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका अन्य दलहरु नेपाली कांग्रेसका छाते, ढोके, हुक्के मात्र रहेको टिप्पणी गर्नुभएको छ । नेकपा एमाले मोरङले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

कांग्रेसले यो गठबन्धन सधै रहन्छ, मिलेर चुनाव लड्छौं भन्ने सुनेको छ भन्ने प्रश्न गर्दै कांग्रेससँग टाँसिएर गएका अरुलाई त्यति नगरे अस्तित्व नै जोगाउन गाह्रो हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन चुनावसम्मै कायम रहन्छ नभनेर के गर्नु, आखिर कांग्रेसका छाते ढोके र हुक्के न हुन् ।’

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ब्यक्तिगत स्वार्थ भन्दा अरु केहि नदेख्नेलाई भोगटे, ज्यामिर, कागति जत्रो पार्टी भएपनि अध्यक्ष नै बन्नुपर्ने आरोप लगाउनुभयो ।

२४० मा रहेको नेकपा एमालेलाई ३३ सिटमा झारेर, पार्टि चलाउन नसकेर झोला फ्यालेर हिड्नेलाई नै फेरी दोस्रो नै किन नहोस अध्यक्ष हुनै पर्ने, उहाँले भन्नुभयो, ‘त्यतिमात्र हैन केहि नभए पार्टी जत्रो होस भोगटे, ज्यामिर वा कागती जत्रो, जे भएनि अध्यक्ष हुनै पर्ने ।’

दुई तिहाईको पार्टी फुटाएर, आफ्नो पार्टीको सरकार ढाल्न विपक्षीको पछि लागेर राष्ट्रपतिकहाँ, अदालतमा परमादेश माग्न पुग्नेहरु कुहिर झरेको फल मात्रै रहेको टिप्पणी गर्नुभयो । उहाँले त्यस्ता कुहिएका फलहरु झरेर नोक्सान नहुने बरु मल हुने बताउनुभयो ।

एमालेलाई गठबन्धन र पार्टी एकता आवश्यक नपर्ने भन्दै उहाँले अरु तिर अलमलिएका, भ्रममा पारिएकाहरुलाई सम्झाई बुझाई पार्टीमा गोलबद्ध भने गर्नुपर्ने बताउनुभयो ।

पार्टीबाट केहि खराब तत्वहरु बाहिरिँदा पार्टीलाई नोक्सान नहुने भन्दै उहाँले मोरङमा मात्र पार्टी एकता हुँदा रहेका २९ हजार संगठित सदस्य बढेर ३४ हजार पुगेको र थप ६ हजार प्रकृयामा रहेकाले यसले जनतामा आएको जागरणलाई पुष्टि गरेको बताउनुभयो । उहाँले मोरङमा पहिले जति समानुपातिकमा भोट आएको थियो, अब कमसेकम २५ प्रतिशत भन्दा बढी बढ्ने र बढाउनुपर्ने बताउनुभयो ।

सर्वोच्चको फैसला संविधान विपरीत

नेकपा एमालेका अध्यक्ष ओलीले सर्वोच्च अदालतले आफ्नो मर्यादाको ख्याल गर्न नसकेको बताउनुभएको छ । अदालतले मन नपरेको मान्छेलाई कसरी हटाउँदो रहेछ भन्नेकुराको पुष्टि परमादेशको फैसलाले गरेको बताउनुभयो ।

‘संविधानमा नलेखेपनि, दुनियाँमा कहि अभ्यास नभएपनि लोकतन्त्रमा चल्दै नचल्ने अभ्यास पनि अदालतले आदेश दिँदो रहेछ ।’ उहाँले भन्नुभयो ,‘ प्रधानमन्त्रीले फेरी उम्मेदारी हाल्न नपाउने ? भइरहेको प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य, जो सबभन्दा ठूलो दलको नेता हो उसले प्रधानमन्त्रीमा उम्मेदवारी हाल्न पाउँदैन ।

सम्मानित सर्वोच्च अदालतले भन्छ, यो भन्दा तमासा के हुन्छ ?’ प्रत्यक्षमा ८० सिटले ल्याउनेले नपाउने २३ सिट ल्याउनेलाई सोझै २४ घण्टा भित्र नियुक्ति दिनु भन्ने परमादेश ? भन्ने प्रश्न गर्दै आखिर सेटिङ नै त रहेछ । सर्वोच्चले प्रधानमन्त्रीको दावी पुग्यो पुगेन भनेर हेर्न राष्ट्रपतिको अधिकार समेत खोसेको बताउनुभयो ।

सर्वोच्च अदालतको काम संविधानको ब्याख्या गर्ने मात्र रहेको भन्दै संविधान परिवर्तन गर्ने काम नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामी डेमोक्र्याटिक सिस्टममा अदालत स्वतन्त्र मर्यादामा रहोस, मर्यादित हैसियतमा रहोस भन्ने कामना गर्दछौं । तर दुःखका साथ हाम्रो सम्मानित अदालतले त्यसरी फैसला गरेन । निष्पक्ष फैसला गरेन । संविधान बमोजिमको फैसला गरेन ।’

उहाँले सत्ता गठबन्धनले मागे भन्दा बढी सर्वोच्च अदालतले आदेश दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘दुनामा माग्नुभएको थियो । अदालतले टपरीमा दियो । कचौरमा मागेको थियो थालमा दियो । अचम्मै गर्यो अदालतले ।’

एमालेको सरकार ढालेर अहिले मन्त्री बनेकाले जमानत जोगाउन मुस्किल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर गएका र एमालेकै सरकार ढालेर मन्त्री हुनेहरुलाई आगामी चुनावमा जमानत जोगाउन चुनौती दिनुभएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट मन्त्री भनेका नेताहरुप्रति लक्षित गरी उहाँले संघ र प्रदेशको सरकार ढालेर खुसी भएका नेता कार्यकर्तालाई आगामी निर्वाचनमा जनमत जोगाएर देखाउन चुनौति दिनुभएको थियो ।

गठबन्धनको सरकार आफै ढल्छ

एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार चाँडै आफै ढल्ने बताउनुभएको छ । उहाँले आफूहरुलेृे चाहे १ हप्तामा नै ढाल्ने यसअघि नै बताइसकेको भन्दै आफै ढल्न लागेको सरकारलाई चलाउन आवश्यक नरहेको बताउनुभयो । जनतालाई झुक्याएर, भ्रममा पारेर, स्वार्थपूर्तिका लागि मात्र बनेको सरकार धेरैदिन टिक्न नसक्ने बताउनुभयो ।

‘सत्ता गठबन्धन पाँचतिर फर्केर बोल्छन् । केहि गर्नुपर्दैन, यीनिहरुलाई लुतो लागेको छ । त्यो लुतोले नै उनीहरुका रौ सवै झर्छ । धेरै टिकेछ भनेपनि १३ महिनामात्र त हो” भन्दै उहाँले त्यसपछि त चुनाव हुने र जनताको न्यायालयबाट एमालेले देखाइदिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ ‘जनतामा असाधारण जागरण आएको छ, नेपाल बनाउने कुरा एकजुट भएर नेपाल बनाउनुपर्छ समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्छ । हाम्रो भूमि फिर्ता लिनुपर्छ । हाम्रो नक्सा कायम राख्नुपर्छ । हाम्रो देश विकास गर्नुपर्छ । भन्ने कुराको फैसला जनताले चुनावमा गर्छन् ।’ जनतालाई न्यायाधिश बनाएर अघि बढ्ने कुरालाई प्रतिगमन भन्नेहरुले त्यतिबेला जवाफ पाउने उहाँले बताउनुभयो ।

Back to top button