प्रदेश १ मा संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समीक्षा गरेको छ ।

सोमबार समितिका अध्यक्ष,आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई सम्बोधन गर्ने निर्णय गरेको छ ।

वर्षा र त्यसपछिको डुबान, कटान अनि पहिरोबाट भएको क्षतिको समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सूचारु गर्न समनवय गर्ने निर्णय गरेको छ । सडक अवरुद्ध भएकोले खाधान्न तथा नुन लगायत सामग्री अभाव भयो भन्ने गुनासो आएकोले संघीय भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिजनसँग समन्वय गरेर तत्काल सडक मर्मत गर्दै सूचारु गर्न समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

१४ जिल्लामा विपद्जन्य बस्ता कस्ता घटना हुन सक्छन् भन्ने जोखिम क्षेत्रको ‘म्यापिङ’ गरेर यकिन विवरण जिल्ला विपद् व्यवस्थापन समितिले १५ दिनभित्र मन्त्रालयमा पठाउन समेत निर्देशन दिने निर्णय भएको सचिव पराजुलीले बताउनु भयो । प्रदेशका १४ वटै जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई संभावित विपद्का कारण उत्पन्न परिस्थितिमा उद्धारको लागि आवश्यक पर्ने सामग्री आवश्यक भए मन्त्रालयमा माग गरेर पठाउने, बाढी पहिरोबाट भएको भौतिक संरचनाको   क्षतिको भौतिक पूर्धाधार मन्त्रालयबाट एकीकृत विवरण तयार गरी मर्मत गर्नुपर्ने सडक भए मर्मत गर्ने  निर्णय भएको मन्त्रालयले जनाएको छ ।

सोमबार नै प्रदेश सुरक्षा समन्वय समितिको बैठक पनि सम्पन्न भएको छ । नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका प्रदेशस्तरीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

बैठकमा समग्र प्रदेशको सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध नियन्त्रणको विषयमा निकायगत रुपमा प्रस्तुति गरिएको थियो । बैठकमा मन्त्री कार्कीले अपराध अनि सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्दै समग्र सुरक्षा व्यवस्था चुस्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

Back to top button