मोतिपुर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार दिने सरकारको निर्णय

काठमाडौं। गत असोज २४ गते बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । सो क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए ।

यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

यस्तै सरकारले कीर्तिपुर नगरपालिका र चीनको हुवाइ प्रान्त हु ह्याङ शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।

यसैगरि नेपाल कृषि तथा वन सेवा समूहतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

Back to top button