महानगरले नउठाएपछि सडकमै थुप्रिन थाल्यो फोहोर

विराटनगर । दसैँ देखी यता विराटनगर बजारमा फोहर उठ्न सकेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि स्थानीयले सडकको किनारामा फोहर पाल्ने गरेका छन् । फोहोर नउठेपछि दुर्गन्ध समेत फैलँदै जान थालेको छ ।
महानगरले २०७३ साल देखि फोहोर मैला व्यवस्थापनको जिम्मा वेस्ट म्यानेजमेन्ट प्रालिलाई दिएको छ । वेस्ट म्यानेजमेन्टले दैनिक घर पसल तथा अस्पतालको फोहोर सङ्कलन गर्ने, सडकमा कुचो लगाउने, साना नालाको सरसफाइ गर्ने र बेवारिसे मानव शव तथा मृत जीवजन्तुको व्यवस्थापन गर्ने काम गर्दै आइरहे पनि  दशैदेखि यता भने काम नगरेका कारण बजारमा फोहोर थुप्रिन थालेको  हो । प्राविले फोहोर नउठाए पछि स्थानीय बासिन्दा महानगरपालिकासँग आक्रोशित हुन थालेका छन् ।
यता म्यानेजमेन्ट प्रालिले भने महानगरपालिकाले भुत्तानि ढिला दिएका कारण फोहोर उठाउन  ढिला भएको बताउँदै आएको छ । महानगरले भुत्तानि ढिलो दिएपछि कर्मचारीलाई तलब खुवाउन ढिलो भएका कारणले फोहोर उठाउन समस्या भएको वेस्ट म्यानेजमेन्ट प्रालिका प्रमुख देवी प्रसाद आचार्यले बताउनु भयो  । उहाँले फोहोर उठाउन थालिएको दाबी समेत गर्नु भएको छ ।
विराटनगरका करिब ६० हजार घरधुरी रहेका छन् । जसमध्ये १० हजार घरपरिवारले वेस्ट म्यानेजमेन्टबाट सरसफाइ सम्बन्धी सेवा लिई रहेका छन् । महानगरपालिकाले वेस्ट म्यानेजमेन्ट लाई मासिक ११ लाख ४० हजार रुपैयाँ दिने गरेको छ ।  एक परिवार सेवाग्राहीबाट ३ सय देखी ३ हजारसम्म परियोजनाले मासिक पैसा लिने गरेको छ । सेवाग्राहीबाट सेवा शुल्क बापत मासिक २७ देखि २९ लाख रुपैयाँको आम्दानी गर्ने गरेको छ ।
 दैनिक फोहोर सङ्कलन गर्न विराटनगरमा २५ वटा ट्याक्टर र २ सय २२ जना कर्मचारीहरू खटने गरेका छन् । जसमा महानगरका ३ वटा ट्याक्टर भाडामा परियोजनालाई दिएको छ । मासिक प्रति ट्याक्टर ७ हजार प्रयोग गरेबापत परियोजनाले महानगरलाई बुझाउने गरेको छ ।  परियोजनाका २२ वटा ट्याक्टर फोहोर उठाएर ल्यानडफिल्ड  साइड सम्म लैजाने गरिएको छ ।
यता महानगरपालिकाले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेन । मेयर भीम पराजुली सँग सम्पर्क गर्न खोज्दा आफू बाहिर रहेको जवाफ दिनु भयो  प्रवक्ता उद्धव आर्यलाले बिरामी रहेको जानकारी दिनु भयो  । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले आफू मिटिङमा रहेको भन्दै यस विषयमा केही जानकारी नभएको बताउनु भयो ।
सूचना अधिकर समेत रहनुभएकी वातावरण शाखाकि प्रमुख अनिता न्यौपाने कोइरालाले यस विषयमा आफूलाई जानकारी नभएको भन्दै आफ्नो जिम्मेवारी वाट पन्छनु भयो ।

Back to top button