एमाले उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने सङ्केत गर्नु भएको छ ।  गृह जिल्ला अछामको साँफेबगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने सङ्केत गर्नु भएको हो ।
कतिपय साथीहरूले महाधिवेशनमा तपाईँ केमा उठ्नुहुन्छ भनेर सोध्नुहुन्छ । मैले तपाईँहरू जेमा उठ्न भन्नुहुन्छ म त्यसैमा उठ्छु भन्ने गरेको छु । तपाईँहरूको पनि केही छ भने भन्नुहोस् भन्दै सम्बोधन सुरु गर्नु भएका रावलले जनताको र कार्यकर्ताको आवाज कमजोर हुन नदिने समेत बताउनु भयो ।
 कार्यक्रममा सहभागीहरूले एकै स्वरमा अध्यक्षमा उठ्न भनेका थिए ।चुनावमा हारजित स्वाभाविक भएको भन्दै उहाँले आफू त्यसलाई स्विकार्न तयार रहेको बताउनु भयो ।
 आठौँ महाधिवेशनमा केपी शर्मा  ओली पराजित भएको प्रसङ्ग पनि उल्लेख गर्दै रावलले  आफू र ओली एउटै प्यानलमा हुँदा आफूहरू पराजित भएको स्मरण समेत गर्नु भएको थियो ।  उहाँले आफू संविधानसभाको चुनावमा हारेको, ओली झापामा हारेको तथा माधव नेपाल काठमाठौंमा हारेको कुरा पनि उल्लेख गर्दै प्रतिस्पर्धामा हारजितलाई सामान्य लिनु पर्ने बताउनु भयो ।  हारजितभन्दा पनि देश, जनता, न्याय, समानता, सिद्धान्तका लागि झन्डा बलियो गरी समात्छ कि समात्दैन भन्ने कुरा महत्त्वपूर्ण हुने भएकोले पनि आफ्नो अध्यक्षमा उम्मेदवारी हुने उहाँको भनाइरहेको छ ।  ।

Back to top button