शुक्रबारदेखि सम्पूर्ण शैक्षिकसंस्था खोल्न विराटनगर महानगरको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले पर्सि शुक्रबारदेखि महानगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुलाई निर्देशन दिएको छ ।

हिजो बसेको नगर शिक्षा समितिको बैठकले निर्णय गरेर महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरु संचालन गर्न निर्देशन दिएको हो ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार कोभिड–१९ को जोखिम कम हु“दै गएको र शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास महाशाखाले रेडियो टेलिभिजनबाट संचालन गर्दै आएको कक्षा समेत बन्द गरेकोले सवै पक्षहरुसँग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

अधिकृत भट्टराईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरी–गराई कात्तिक २६ गतेबाट सम्पूर्ण विद्यालयमा पूर्णकालीन समयसम्म पठनपाठन कार्य सञ्चालन गर्ने निर्णय भएकोले सोही बमोजिम गर्न गराउन अनुरोध छ ।’

छलफलमा सामुदायिक विद्यालयका प्रतिनिधि, शिक्षक महासंघका प्रतिनिधि, निजी विद्यालयहरुको छाता संस्था प्याब्सन, एनप्याब्सन र प्लस टुहरुको संस्था हिसानका प्रतिनिधिहरु सवैले विद्यालय खोल्न सहमति जनाएकोले यस्तो निर्णय गरिएको जनाइएको छ ।

Back to top button