पथरीशनिश्चरेमा सामुदायिक कुकुरको वन्ध्याकरणलाई निरन्तरता

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले यस वर्ष पनि सामुदायिक कुकुरहरुको वन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिएको छ । रेविज मुक्त नगर बनाउने योजना अनुसार संचालित वन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वाँस्तोलासहितको टोलीले वडा नम्बर ६ स्थित मंगलबारेमा रहेको पशु सेवा केन्द्रमा सञ्चालित वन्ध्याकरणको अवस्थाको अनुगमन गरेको छ ।

साथै टोलीले, नगरले ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेको पशुपंक्षीको औषधिका साथै आधारभूत स्वास्थ्य सेवा केन्द्रसहितको गतिविधिको अनुगमन गरेको छ ।

वन्ध्याकरण कार्यक्रममा नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा दोस्रो दिनसम्ममा १ सय ४५ वटा कुकुरको वन्ध्याकरण गरिएको र २ सय वढीको वन्ध्याकरण गर्ने लक्ष्य रहेको नगरका पशु सेवा प्राविधिक पर्वत साहले जानकारी दिनुभयो ।

डाक्टहरु इन्द्रनारायण साह, कृष्णकुमार यादव, सूर्य साह, सुवास चौधरी, राघवेन्द्र तिवारी सहितको पशु सेवा प्राविधिक टोलीले वन्ध्याकरण कार्य सञ्चालन गर्दै आउनुभएको छ । पहिलो वर्ष १ सय ६०, दोस्रो वर्ष २ सय २ वटाको वन्ध्याकरण गरिएको थियो ।

वन्ध्याकरणका लागि यो वर्ष ५ लाख रुपैयाँ विनियोजन भएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जानकारी दिनुभयो । सेवा केन्द्रबाट आवश्यक औषधि र खोप पनि निःशुल्क उपलब्ध हुँदै आएको छ ।

Back to top button