प्रमुख अतिथिको विवाद बढेपछि सिन्धुलीमा निषेधाज्ञा जारी

काठमाडौं । सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिनुभयो ।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो ।

कार्यक्रममा सहभागी हुन पोखरेलले हिजो नै सिन्धुलीगढी पुग्नुभएको थियो । तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाए ।

गठबन्धनका दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए । अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

सहमतिको लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा पनि सहमती जुट्न नसकेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी गरिएको निषेधाज्ञामा स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बिहान ११ बजेदेखि भरे राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

सिन्धुलीगढीमा अंग्रेज सेनाविरुद्धको लडाइँमा गोरखाली फौज विजयी भएको स्मरणमा हरेक वर्ष आजकै दिन त्यहाँ विजयोत्सव समारोह हुँदै आएको छ ।

 

Back to top button