नेपाल र कोरिया परामर्श संयन्त्रको बैठक : इपीएस उत्तिर्ण गरेकालाई चाँडै लैजान आग्रह

काठमाडौं । नेपाल र गणतन्त्र कोरियाबीच आज द्विपक्षीय परामर्श संयन्त्रको पाँचौं बैठक सम्पन्न भएको छ ।

बैठकमा नेपाल सरकारको तर्फबाट परीक्षा उत्तीर्ण गरेकालाई जतिसक्दो चाँडो कोरिया लैजान आग्रह गरिएको छ । सरकारले इपिएसअन्तर्गत नेपालका लागि छुट्याइएको कोटाको सङ्ख्या समेत बढाउन आग्रह गरेको छ ।

बैठकमा दुई पक्षबीच कोभिड–१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवर्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बताउनुभएको छ ।

यस्तै बैठकले दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदान महत्वपूर्ण रहेको स्वीकार गर्दै दुवै पक्षले रोजगार इपिएससम्बन्धी समझदारी पत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्ने सहमति समेत जुटेको छ ।

परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख समेत रहनुभएका नेपाली प्रतिनिधिमण्डलका नेता थापाका अनुशार बैठकमा नेपाल–कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नतामा जोड दिइएको छ ।

थापा नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीको सहभागिता थियो भने र कोरियाली प्रतिनिधिमण्डलमा दक्षिण एसियाली तथा प्रशान्त मामिला ब्यूरोका महानिर्देशक सङ्ग्र्योल लीसहित कोरियाली परराष्ट्र मन्त्रालय, कोरियाली दूतावासका अधिकारी, कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपाल कार्यालयका देशीय निर्देशक र प्रतिनिधि सहभागी हुनुभएको थियो ।

आज नै परराष्ट्र सचिव भरतराज पौड्यालसँग महानिर्देशक सङ्ग्र्योल ली लीले शिष्टाचार भेट समेत गर्नुभएको छ । भेटमा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

Back to top button