भूपेन्द्र बडुवालको हत्याको आरोपमा ८ जना पक्राउ

धनगढी । कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धीरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रविन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह छन्।

प्रहरीले संगम होटलमा आक्रमण हुन थालेपछि होटलका सञ्चालक र उहाँकी पत्नीलाई उनीहरूको सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ।

घटनास्थलबाट सुपप्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सुपप्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको जनाएको छ।
घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरू गरेको हो।

Back to top button