गठबन्धनलाई भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारीमा प्रदेश १ सरकार

विराटनगर । प्रदेश १ सरकारले गठबन्धनमा भएका दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी गरेको छ । गठबन्धनको सरकार रहेको प्रदेश १ मा सवैलाई समेट्नका लागि मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले मन्त्रालय फुटाउने तयारीमा लागेको हो ।

७ वटा मन्त्रालय रहेको प्रदेशमा ११ वटा सम्म मन्त्रालय बनाउने तयारीमा प्रदेश १ सरकार रहेको छ । उद्योग पर्यटन, वन तथा वातावरण, सामाजिक बिकास र भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारीमा प्रदेश सरकार रहेको जनाइएको छ ।

मन्त्रालय फुटाउँदा आर्थीक भार बढ्ने भन्दै विरोध भइरहेका बेला प्रदेश सरकार भने मन्त्रालय फुटाउने तयारीमा जुटेको हो । सरकारमा ५ दलीय गठबन्धन रहेकोले सबैलाई भाग पुर्‍याउनै पर्ने भएकाले मन्त्रालय फुटाउनुको बिकल्प नभएको सत्तारुढ दलका एक सांसदले बताउनुभयो ।

धेरै मन्त्रालय एकै ठाँउमा गाँभिदा जनतामा दिने सेवा सुविधामा ढिलाइ भएकाले मन्त्रालय फुटाउने तयारीमा लागिएको मुख्यमन्त्री राइले बताउनुभयो । सामाजिक बिकास मन्त्रालय अन्तरगत खेलकुद, शिक्षा, स्वास्थ्य, यूवालगायतका मन्त्रालयको जिम्मेवारी छ भने कृषि मन्त्रालयमा सहकारी पनि छ ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पनि धेरै बोझ भएको भन्दै फुटाउनु पर्छ भन्ने लागेको मुख्यमन्त्री राईले भन्नुभएको छ । उहाँले यहि ३० गते विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने समेत बताउनुभएको छ । यहि २३ गतेका लागि बोलाइएको प्रदेशसभाको बैठक मुख्यमन्त्री राइले ३० गते मात्रै विश्वासको मत लिने भएपछि सारीएको छ ।

संविधानको धारा १६८ (९) मा प्रदेश सरकारमा मन्त्रीको संख्या कति हुने भन्ने व्यवस्था छ । मुख्यमन्त्रीसहित प्रदेशसभाका कूल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने उल्लेख गरिएको छ ।

प्रदेश नम्बर १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेका छन् ।

दलीय भागबण्डाकै लागि जम्बो मन्त्रिपरिषद बनाउन लागिएको भन्दै आलोचना समेत शुरु भएको छ ।

Back to top button