नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटकालागि मोरङमा आज मनोनयन दर्ता गरिँदै

विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि चयनका लागि आजदेखि निर्वाचन प्रकृया आरम्भ भएको छ ।

प्रतिनिधि छनौट लागि आज नेकपा एमाले मोरङको पार्टी कार्यालयमा विहान १० देखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । मनोयन दर्ताका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रतिनिधि चयनका लागि यहि कात्तिक २७ गते निर्वाचन मिति तोकिएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा २४ वटा मतदान केन्द्र तोकि निर्वाचन सम्पन्न गर्ने यस अघि नै एमाले मोरङले उल्लेख गरेको छ ।

यता नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले लोकतान्त्रिक विधिभित्र रहेर आम सहमतिको बाटो अवलम्बनका निम्ति प्रयत्न समेत हुने बताउनुभएको छ ।

भूगोल, दलित र महिला तिनवटै निर्वाचन क्षेत्रमा समग्र जिल्लाभरबाट आम सहमति जुटाउन प्रयत्न भने हुनेछ,’ अध्यक्ष पोखरेलले भन्नुभयो,‘ यसलागि माथिल्लो समिति र केन्द्रीय कमिटीमा रहनुहुने जिल्लाका नेताहरुसँग पनि आमसहमतिको वातावरण बनाइदिन आग्रह गरेका छौं ।’

उहाँले महाधिवेशन प्रतिनिधिमा मनोनयन गर्ने नेतृत्व भनेको हिजो वडा तथा पालिका अधिवेशनलाई सर्वसहमत बनाउन भूमिका खेल्ने नेताहरु नै हुने भन्दै प्रतिनिधि छनौटमा पनि आम सहमति जुटाउनु उहाँहरुका लागि पनि नैतिक प्रश्न रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आम सहमति अहिलेको आवश्यकता पनि हो ।’ यद्यपी उहाँले लोकतान्त्रि अभ्यासलाई हस्तक्षेप गर्ने भन्ने विषय गलत भएको भन्दै निर्धारीत समयभित्र मनोनयन दर्ता गरि मनोनयन दर्ता गर्ने नेतृत्वलाई अपरान्ह ५ बजेसम्म जिल्ला पार्टी कार्यालयमा रहन आग्रह समेत गर्नुभएको छ ।

नेकपा एमालेको केन्द्रीय अन्तर पार्टी निर्देशन अनुशार पहिलो १२ सय पार्टी संगठित सदस्य बराबर एक जना महिलासहित तीन जना प्रतिनिधि र त्यसपछि प्रत्येक ८ सय बराबर १ जना प्रतिनिधि र अर्को ८ सयमा १ महिला अनिवार्य हुने गरि प्रतिनिधि चयन गर्नुपर्ने छ ।

दलितको हकमा भने ५ सय पार्टी संगठित सदस्य बराबर १ जना प्रतिनिधि र थप ५ सय मा १ महिला अनिवार्य हुनेगरि प्रतिनिधि चयन हुनेछन् ।

Back to top button