उदाउँदो सूर्यलाई अर्घ्‍य दिएर छठको समापन

विराटनगर । आरोग्यताका लागि आस्था राखेर मनाउने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ्‍य दिएर समापन गरिएको छ । खोला, नदी, तलाउ र नहरका किनारमा सूर्य आराधना गर्दै ब्रत बसेका ब्रतालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्‍य दिएर यस वर्षको छठ पर्वलाई बिदा गरेका हुन् ।

कसार, ठेकुवा, केरा, उखु, मेवालगायतका फलफुल एवं भुसवा, माटोले बनाइएको हात्तीको प्रतिमा, सुप, कनसुपतीसहितको कलशलाई अर्घ्यसँगै सूर्यलाई चढाउने गरिन्छन् । त्यसरी चढाइने ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रतिक मानिन्छ ।

विराटनगरको सिंघीया खोलाको घिनाघाट र हाटखोलालगायतका स्थानमा बिहानैदेखि सूर्य नउदाउन्जेल पूजाआजा गरेका छन् । त्यसैगरी केसलिया नहर, मोरङ सुनसरी सिंचाई आयोजनाको नहरलगायतका स्थानमा भक्तजनहरूले सूर्यलाई अर्घ्‍य दिएर छठ समापन गरेका छन् ।

 

Back to top button