सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

विराटनगर । सप्तरीको कञ्चनरुप नगरपालिकाको बरमझिया स्थित पूर्व–पश्चिम राजमार्गमा बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले पूर्वतर्फ आउँदै गरेको बीआर ३६ आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ का राजकुमार तिवारी र परिचय नखुलेका अर्का एकजनाको मृत्यु भएको हो ।

तिवारीको उपचारका लागि विराटनगरतर्फ ल्याउदै गर्दा र अर्का व्यक्तिको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा पैदलयात्री कञ्चनरुप –१ बरमझियाका १९ वर्षीय रोहनप्रसाद गुप्ताको दाहिने खुट्टा भाँचिएको छ । बस र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button