
काठमाडौं । सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई गेटमै रोक्न धर्ना दिने भएको छ ।१० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश राणालाई छिर्न नदिन धर्ना दिन लागिएको बार महासचिव लीलामणि पौडेलले बताउनु भयो ।
हामीले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा उहाँको प्रशासनले हामीमाथि बल प्रयोग गर्यो। त्यसैको विरोधमा शुक्रबार उहाँलाई अदालत प्रवेशमा रोक लगाउने तय भएको छ,उहाँले भन्नु भयो ।
।
प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उहाँको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ।
बिहीबार सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्दा प्रहरीले वकिलहरूमाथि लाठीचार्ज गरेको थियो। प्रहरीको लाठीचार्जबाट बार महासचिव पौडेल, उपाध्यक्ष रक्षा बस्याल लगायतलाई चोटपटक लागेको थियो। उक्त घटनाको भर्त्सना गर्दै नेपाल बारले विज्ञप्ति निकालेको छ।
नेपाल बारले शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका इजलाससमेत बहिष्कार गर्ने भएको छ। बार पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरीरहेको छ ।