कांग्रेस महाधिवेशन : अधिकार मागेर हैन संघर्षबाट लिने श्रमजिवीहरुको निष्कर्ष

विराटनगर । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसका नेताहरुले अधिकार मागेर नभई संघर्षबाट नै प्राप्त गर्नुपर्ने निष्कर्ष निकालेका छन् । आज विराटनगरमा सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा श्रमजीविहरुको भूमिका विषयक कार्यक्रममा बोल्ने नेताहरुले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा सार्क टुकका महासचिव एवं ट्रेड यूनियनका पूर्व अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले सामाजिक न्यायका लागि ट्रेड यूनियनले भूमिका खोजिरहेको अवस्थामा नीति निर्माण तहमा आफ्नै उपस्थिती हुदाँ श्रमजीविको हक अधिकार सुनिश्चित रहनेमा जोड दिनुभयो । उहाँले श्रमजीविको भविष्य निर्माणकालागि उम्मेदवारी आउनु सुखद भएको बताउनुभएको छ ।

निर्वाचनमा सहभागि सबैलाई एकढिक्का भएर साथ दिन बस्नेतले आग्रह गर्नुभएको थियो । ट्रेड यूनियनका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले श्रमजिवीहरु पार्टीको नीति निर्माण तथा योजनासम्म पुग्नुपर्नेमा जोड दिनुभयो । गन्तब्यसम्म नपुग्दा पार्टीले ट्रेड यूनियनकर्मी प्रति हेर्न दृष्टिकोण फरक पारेको उहाँको भनाई थियो ।

विगतका निर्वाचनमा कांग्रेस मजदुर विरोध भएर देखिने गरेको आरोप लगाउदै उहाँले सत्तामा पुग्ने कांग्रेसले मजदुर पक्ष बन्न सक्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा ट्रेड यूनियनका प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले नीति निर्माण तहसम्म आफूहरुको सहभागिता रहनुपर्नेमा जोड दिनुभयो ।

विभिन्न संस्थालाई संगठन गर्दै पार्टीलाई बलियो बनाउने भूमिकामा ट्रेड यूनियन कर्मी उभिदै आएपनि पार्टीले नीतिगत तहसम्म पुराउन कन्जुस्याई गर्ने गरेको आरोप लगाउनुभयो । ट्रेड यूनियनका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले पार्टीले श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउनुभयो ।

उपाध्यक्ष राईले पार्टीको बैधानिक संरचनामा श्रमिकको भूमिका नदेखिएको हुदाँ अब आफ्नो हक अधिकार मागेर नभई संघर्षबाट लिनुपर्ने समय आएको बताउनुभयो । यसैबिच नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि श्रमजिवीहरुको तर्फबाट आज २५ जनाले सामुहिक उम्मेदवारीको घोषणा गरेका छन् ।

मोरङबाट प्रतिनिधित्व गर्ने ट्रेड यूनियनकर्मीहरुले मंसिर ३ देखि १० गतेसम्म हुने महाधिवेशनमा २५ जनाले उम्मेवारी घोषणा गरेका हुन् । जिल्ला सचिवको लागि दावी गरेका ट्रेड यूनियन मोरङका अध्यक्ष सुशील कोइरालाले मोरङबाट २५ जनाको उम्मेद्वारी आएको जानकारी दिनुभयो ।

यस्तै अध्यक्ष कोइरालाको उम्मेदवारीका लागि प्रदेश अध्यक्ष कार्कीले प्रस्ताव गर्नुभएको छ भने पूर्व अध्यक्ष बस्नेत र पुष्कर आचार्यले समर्थन जनाउनुभएको थियो ।

कार्यक्रममा ट्रेड यूनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजयकुमार राई, निवर्तमान कोषाध्यक्ष जनार्दन निरौला, ट्रेड यूनियन प्रदेश १ महिला विभाग अध्यक्ष सुनिता घिमिरे, तरुण दल मोरङ अध्यक्ष प्रभाकर थापा, नेविसंघका पूर्व सहमहामन्त्री कृष्ण कार्कीलगायतको उपस्थिती थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका सभापति र १९ वडाका सभापतिलाई समेत सम्मान गरिएको थियो ।

Back to top button