स्थायी कमिटी बैठकमा माधव नेपालको ढाढस : हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चल्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटी बैठकमा आफ्नो पार्टीप्रति आकर्षण बढेको र प्रवेश गर्नेको लहर चलेको ढाढस दिनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटीका एजेन्डा तय गर्न आज बसेको स्थायी कमिटी बैठकमा पार्टी गठनदेखि अहिलेसम्मको अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै उहाँले अन्य पार्टी छाडेर नेकपा एसमा आउनेको लहर चलेको बताउनुभएको हो ।

सबैतिरबाट राम्रो प्रतिक्रिया आएको भन्दै उहाँले एमाले छोडेर हाम्रो पार्टीमा धमाधम आउने क्रम चलेको बताउनुभयो । नेपालले एमाले छाडेर आउने, अन्य पार्टीबाट प्रवेश गर्ने र सहकार्य गर्न चाहनेहरु बढ्दै गएको बताउनुभयो । डडेलधुरामा सिंगै जिल्ला कमिटी नेकपा एसमा आएको उदारण दिँदै उहाँनले यसले आफूहरुमा उत्साह प्रदान गरेको बताउनुभयो ।

यस्तै विभिन्न दलबाट राजनीतिक छलफल गर्नका लागि प्रस्ताव आइरहेको भन्दै उहाँले कतिपयसँग विभिन्न तहमा छलफल समेत भइरहेको बताउनुभयो ।

नेपालले आफ्ना विरुद्ध एमालेले झुटा प्रचार गरिरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न पनि आग्रह गर्नुभयो । उहाँले चोटिलो प्रतिवाद गर्न ढिलो भइरहेको समेत बताउनुभयो ।

Back to top button