सर्वोच्चका न्यायाधीशले गरे सबै इजलास बहिस्कार

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले आजका पनि सबै इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरूले आज बन्दी प्रत्यक्षीकरणका रिटसमेत हेरेनन्।

प्रधानन्यायाधीश राणाले आफू बाहेकका आठ वटा इजलास गठन गर्नुभएको थियो । उहाँले न्यायाधीश हरिकृष्ण कार्कीको एउटा मात्रै एकल र अन्य सात वटा संयुक्त इजलास गठन गर्नुभएको थियो ।

आज न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीका लागि इजलास तोक्नुभएको थियो ।

राणाले आजका लागि बन्दी प्रत्यक्षीकरणका रिटसहित अन्य मुद्दा पनि सुनुवाइका लागि पेसी तोक्नुभएको थियो। तर, न्यायाधीशहरूले भने बन्दीका मुद्दा समेत हेरेनन्। गत कात्तिक ७ गतेदेखि आन्दोलन थालेका न्यायाधीशहरूले यसबिचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै हेर्ने निर्णय गरेका थिए ।

नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा धर्ना दिएका कारण न्यायाधीशहरू इजलासमा बसेनन् । बारको धर्नाका कारण प्रधान्यायाधीश राणा पनि बिहान पौने ११ पछि मात्रै सर्वोच्च पुग्नुभएको थियो ।

वकिलहरू अदालतको मुल गेटमै धर्नामा बसेपछि राणा वैकल्पिक बाटोबाट अदालत छिर्नुभएको थियो । बारले भने आइतबार पनि मुल गेटमा धर्ना दिने जनाएको छ।

प्रधानन्यायाधीश राणाविरुद्ध वकिलहरू र न्यायाधीशहरू आन्दोलनमा उत्रिएपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको छ।

Back to top button