मूल्यबृद्धिको विरोधमा अखिलको विरोध प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन

विराटनगर । अस्वभाविक रुपमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठनले आज विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।

रित्ता ग्याँस सिलिण्डर सहित सडकमा प्रदर्शनमा उत्रिएको अनेरास्ववियुले, नाफा घाटा जान्दैनौं, मूल्यबृद्धि मान्दैनौं भन्ने नारासहित मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका थिए ।

विरोध प्रदर्शन पछि विराटनगरको जनआन्दोलन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रिय उपमहासचिव भाष्कर खनालले अस्वभाविक मूल्यबृद्धि थेग्न नसक्ने भन्दै तत्काल फिर्ता लिन माग गर्नुभयो ।

उहाँले जनता मार्नेगरि गरिएको मूल्यबृद्धि फिर्ता नलिए जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने चेतावनी दिनुभयो । यस्तै जनतामारा मूल्यबृद्धि फिर्ता लिन गरिएको आन्दोलनाई हस्तक्षेप नगर्न प्रहरी प्रशासनसँग पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवलाय सदस्य गोकर्ण घिमिरे, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सन्तोष घिमिरेलगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

कोणसभापछि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत दहन गरेका छन् । पुत्ला दहन गर्नेक्रममा प्रहरीसँग सामान्य मुठभेड समेत भएको थियो ।

 

Back to top button