नेपाली कांग्रेस केपी ओलीलाई एक्ल्याउने पक्षमा छैन : मन्त्री रिजाल

बेलबारी । नेपाल सरकारका रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेस केपी ओलीलाई एक्ल्याउने पक्षमा नरहेको बताउनुभएको छ ।

केहिदिन अघि गठबन्धन सरकारको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गठबन्धन चुनावसम्म कायम रहने कुराको खण्डन गर्दै मन्त्री रिजालले कुनै दल विशेषलाई एक्ल्याउने पक्षमा कांग्रेस नरहेको बताउनुभएको हो ।

नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री रिजाल नेकपा एमाले सर्वसत्तावादतर्फ उन्मुख भएकोले संविधानको रक्षाका लागि मात्रै कांग्रेस गठबन्धनमा सहभागि भएको प्रष्ट्याउनुभयो ।

उहाँले एमाले सरकार रहिरहेको भए वर्तमान संविधान जिवित रहने सम्भावना थिएन भन्दै संविधान जिवित रहे मात्र हरेक खालका राजनीतिक अभ्यास गर्न सकिने बताउनुभयो । तर, कम्युनिष्टहरूले संविधान माथि नै आक्रमण गरेपछि कांग्रेसले लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनाएको बताउनुभयो ।

गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै मन्त्री रिजालले विश्वभर नै उच्च राजनीतिक छवि बनाएर गिरिजाप्रसाद कोइराला अस्ताएको बताउनुभयो ।

आफूले पाएको मन्त्रालयको जिम्मेवारी प्रति लक्षित हुँदै उहाँले भन्नुभयो ‘धेरै बोल्ने भएकोले मलाई कम बोल्नु पर्ने मन्त्रालय र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की कम बोल्ने भएकोले बढी बोल्नु पर्ने मन्त्रालय दिइएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, पूर्व राज्य मन्त्री दिलिपकुमार गच्छदार, मोरङ कांग्रेसका उपसभापति भक्ति माझी सचिवद्वय नागेश कोइराला र मोदराज घिमिरे ,सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारहरू शेखर रेग्मी, कुमोद अधिकारी र दिनेश गिरीलाई पुरस्कृत हुनुभएको छ । उहाँहरुलाई नगद १५ हजार रुपैयाँसहित प्रमाण पत्र र दोसल्लाबाट मन्त्री रिजालले सम्मान गर्नुभयो ।

प्रेस युनियनको मोरङका सभापति भोजराज बस्नेतको सभापतित्वमा बेलबारीको तमु बौद्द गुम्बामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित पत्रकारहरूलाई समेत कदर पत्र प्रदान गरेको छ ।

Back to top button