दीर्घरोगीलाई भोलिदेखि कोरोना बिरुद्धको फाइजर खोप लगाइने

२४ अस्पताललाई तोकियो केन्द्र

काठमाडौं । १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई भोलिदेखि कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ ।

कोभ्याक्स सुविधामार्फत प्राप्त फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभएको छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने दाहालले बताउनुभयो । कात्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ ।

दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ । फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई उपलब्ध गराउने सरकारको योजना छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो । खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा भने अनिवार्य रुपमा लिएर जानुपर्ने छ ।

यस्तै यो खोप लगाइसकेपछि सामान्य असर गर्न सक्ने बताइएको छ । सुई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुन्निने, टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने, मांसपेशीहरू दुख्ने र जोर्नीहरू दुख्ने, खान मन नलाग्ने र वाकवाकी लाग्ने, थकाई लाग्ने, सुई लगाएको हातको काखीको ग्रन्थी सुन्निने र दुख्ने जस्ता लक्षण देखा पर्न सक्छ ।

यस्ता समस्या देखिए नआत्तिन चिकित्सकको सुझाव छ । यस्तो समस्या आफै २–३ दिन भित्रमा ठिक हुने स्वास्थ्य मन्त्रालयको भनाइ छ । कसैकसैमा शरीरमा साना बिमिरा आउने र चिलाउने, शरीरभरि डाबर आउने र चिलाउने, अनुहार सुन्निने, पखाला लाग्ने, बान्ता हुने, सुई लगाएको हात धेरै नै दुख्ने तथा बेहोस हुनेजस्ता लक्षण समेत देखिन सक्ने भन्दै खोप लगाइसकेपछि कम्तीमा ३० मिनेटसम्म खोप केन्द्रमा अनिवार्य बस्न सुझाव दिइएको छ ।

खोपका लागि तोकिए २४ अस्पताललाई केन्द्र

फाइजर खोप लगाउन उपत्यकाका ८ सहित देशभरका २४ अस्पताललाई केन्द्र तोकिएको छ । ति मध्ये उपत्यका भित्रका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, वीरेन्द्र सैनिक अस्पताल रहेका छन् ।

उपत्यका बाहिर भने मेची अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, धुलिखेल अस्पताल, धवलागिरि अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल र सेती अस्पताल रहेका छन् ।

दीर्घरोगीमा को को पर्छन् ?

फाइजर खोप पाउने दीर्घरोगीको समूहमा मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारका क्यान्सरको उपचार गराइरहेका र फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेकाहरु पर्नेछन् ।

यस्तै अङ्ग प्रत्यारोपण रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका, मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएकाहरु दीर्घरोगीको सूचिमा पर्ने बताइएको छ ।

Back to top button