मुख्यमन्त्री राईले ३० गते विश्वासको मत लिने, आज संसद सचिवालयमा प्रस्ताव दर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज प्रदेश सभामा प्रस्ताव दर्ता गर्नु भएको छ । कात्तिक ३० गते बस्ने प्रदेश सभाको बैठकमा राई विश्वासको मत लिने गरी अगाडि बढ्नु भएको छ । मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईले विश्वासको मतका लागि आज प्रदेश सभामा प्रस्ताव दर्ता गराउनु भएको हो ।

विश्वासको मत लिनका लागि दुई दिन अघिनै संसद् सचिवालयमा पत्र दर्ता गराउनु पर्ने कानूनी व्यवस्थाअनुसार राईले स्वकीय सचिव मार्फत प्रस्ताव दर्ता गराउनु भएको हो ।

संसद सचिवालयमा पत्र आएको संसद् सचिवालयका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोख्रेलले पुष्टि गर्नु भएको छ । मंगलवार दिउँसो १२ः३० बजेका लागि बैठक आह्वान गरिसकिएको छ ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको राई मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने उहाँले बताउनु भयो ।

प्रदेश १ मा ९३ प्रदेश सांसदमध्ये एक जना कीर्ते कागजमा अदालतबाट दोषी ठहरिएर फरार भएपछि ९२ सांसद कायम छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा (एस) १०, जसपा ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा १ जना गरी ५० जना सांसद् छन् । प्रमुख प्रतिपक्षी एमालेमा ४० र राप्रपाका एक जना सांसद् छन् ।

Back to top button