अस्ट्रेलिया बन्यो टी-२० विश्वकप च्याम्पियन

काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। दुबईमा आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो।

यस जितसँगै अष्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि जित्दै इतिहास रचेको छ। यसअघि अष्ट्रेलिया सन् २०१० को टी–२० विश्वकपको फाइनलमा पुगेको थियो। तर, फाइनलमा इंग्ल्याण्डसँग ७ विकेटले पराजित भएको थियो।​न्यूजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो।

उसका लागि डेभिड वार्नर र मिचेल मार्शले अर्धशतक पारी खेल्नु भयो। वार्नरले ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाउँदा मार्शल ५० बलमा ६ चौका र ४ छक्काको मद्दतमा नटआउट ७७ रनको योगदान दिनु भएको थियो ।

यस्तै, कप्तान आरोन फिन्च ५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले अविजित २८ रन जोडे। बलिङमा ट्रेन्ट बोल्टले २ विकेट लिनु भएको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। उसका लागि कप्तान केन विलियम्सन उत्कृष्ट ब्याटिङ गर्नु भयो। उहाँले ४८ बलमा १० चौका र ३ छक्कासहित ८५ रनको योगदान दिनुभयो।

उहाँले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। यो टी–२० विश्वकप फाइनलकै सर्वाधिक छिटो अर्धशतक हो। यसअघि सन् २०१४ मा कुमार संगाकारा र सन् २०१६ मा जो रुटले फाइनलमा समान ३३–३३ बलमा अर्धशतक बनाउनु भएको थियो ।

यस्तै, न्यूजिल्याण्डका मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, डारिल मिचेलले ११ रन बनाउँदा जिमी नीशम १३ र टिम सेफर्ट ८ रनमा नटआउट रहनुभयो।

अष्ट्रेलियाका लागि जोश हेजलवुडले शानदार बलिङ गर्नुभयो। उनले ४ ओभरमा मात्र १६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिनुभएके थियो। उहाँले मिचेल, विलियम्सन र फिलिप्सको विकेट लिनुभएका हो।

यस्तै, एडम जाम्पाले १ विकेट लिँदा मिचेल स्टार्कले निकै महँगा साबित हुनुभयो। उहाँले ४ ओभरमा बिनाविकेट ६० रन खर्चिनुभयो।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।

पहिलोपटक टी–२० विश्वकपको फाइनलमा पुगेको न्यूजिल्याण्ड उपविजेतामै सीमित बनेको छ। विजेता टिम अष्ट्रेलियाले १.६ मिलियन अर्थात् १६ लाख अमेरिकी डलर पुरस्कार पाएको छ। उपविजेता न्यूजिल्याण्डले ८ लाख अमेरिकी डलर प्राप्त गरेको छ। यसैगरी सेमिफाइनल पुग्ने दुई टोली पाकिस्तान र इंग्ल्याण्डले समान ४–४ लाख अमेरिकी डलर पाए।

Back to top button