हैजा प्रभावित क्षेत्रका बासिन्दालाई अर्को हप्ताबाट खोप लगाइने

काठमाडौ । झाडापखालाविरुद्धको दुई लाख ५२ हजार ३६३ मात्रा खोप नेपाल आएको छ । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका बासिन्दालाई अर्को हप्ताबाट कोलेराविरुद्धको खोप दिइँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई कोलेराविरुद्धको खोप हस्तान्तरण गर्नुभयो । युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गरेका हुन् ।

कतार एयरको नियमित उडानबाट दुई लाख ५२ हजार ३६३ मात्रा खोप दिउँसो ३ बजे काठमाडौँ आइपुगेको हो । सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त खोप विश्व स्वास्थ्य सङ्गठन, गाभी र युनिसेफको सहयोगमा नेपाल आएको हो ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले खोप काठमाडौँ आइसकेकोले अर्को हप्ता कपिलवस्तुका हैजा प्रभावित पाँचवटा पालिकाका स्थानीयवासीलाई लगाइने बताउनु भयो । । खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने विभिन्न अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो ।

Back to top button