साहित्यकार विजय बजिमयको निधन

काठमाडौं । साहित्यकार विजय बजिमयको हिजो निधन भएको छ । शारीरिक रूपमा जन्मजात असक्त भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखरा मोहरिया टोलमा जन्मिनुभएको थियो ।

विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गर्नुभएको लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता संग्रह), ‘अन्त्वतोगत्वा’ (कथा संग्रह) प्रकाशित हुनुन्थयो भने आधा दर्जन कृति प्रकाशनको तयारीमा हुनुन्थयो ।

कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मानबाट सम्मानित बजिमयले दर्जनौँ साहित्यिक पत्रिकाको सम्पादन गर्नुभएको थियो ।

बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक संघको केन्द्रीय नेतृत्वमा रहिसक्नुभएको थियो ।

अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि उहाँको जन्मथलो पोखरा लगिएको छ।

Back to top button