बर्थ डे पार्टीमा भेला भएका युवा समूहबिच झडप एकजनाको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा–६ सिसुवानीमा गएराति बर्थ पार्टीमा सहभागि हुन गएका युवा समूहबिच भएको झगडामा एकजनाको मृत्यु भएको छ ।

दोहोरो हानाहानका क्रममा खुकुरी प्रहारबाट धनकुटा पाख्रिबास–४ का २६ वर्षीय रिजन दाहालको मृत्यु भएको हो । आँखामा टर्च लाईट बालेको निहुँमा बढेको बादविवाद दोहोरो हानाहानमा पुगेको थियो ।

दोहोरो हानहानपछि घाइते भएका दाहाललाई सुरुमा स्थानीय स्वास्थ्य चौकी, त्यसपछि खनार लगेरपछि मात्रै उपचारका लागि विराट टिचिङ अस्पतालमा ल्याइएको थियो । दाहाललाइ चिकित्सकले राती नै मृत घोषणा गरेका थिए ।

स्थानीय नानु लिम्बुको भतिजीको बर्थडे पार्टीमा दाहाल र अर्का कमल थापा पुगेका थिए । त्यहि पार्टीमा सरिक हुन आएको अर्को समूहसँग घर फर्कने क्रममा दाहाल, थापा र लिम्बुको भनाभन भएको थियो । त्यहि क्रममा दोहोरो हानाहान हुदाँ तीनजना घाइते भएका हुन् ।

रिलायन्स स्पिनिङ्गमा कार्यरत मृतक दाहाल खनारमा बस्दै आएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार अर्को समूहमा रहेकामध्ये धनबहादुर भन्नेसँग दाहालको कार्तिक २७ गते सामान्य विवाद भएको थियो । आँखामा टर्चको लाइट पारेको भन्दै भनाभन भएको प्रहरीले बताएको छ ।

तर, भोलिपल्ट आयोजित बर्थडे पार्टीमा यी दुवै समूह एकै स्थानमा भेला भएका थिए । पार्टीस्थल र घटनाभएको स्थान एक किलोमिटर दुरीमा पर्दछ । घटनामा सामान्य घाइते थापा र लिम्बुलाइ उपचारपछि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

बाँकी अर्को समूहका सातजनाको खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक दाहालका आफन्तलाइ धनकुटाबाट झिकाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Back to top button