नेकपा मालेको आठौं महाधिवेशन सम्पन्न, सीपी मैनाली पुनः महासचिव

काठमाडौं । नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो ।

कात्तिक २७ देखि सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी हाल रहेको केन्द्रीय समितिको सङ्ख्या थप्दै ८१ पुर्‍याएको छ ।

पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको मालेका केन्द्रीय सदस्य दीननाथ घिमिरेले जानकारी दिनुभयो । महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद् र राजनैतिक प्रतिवेदन महासचिव मैनालीलले प्रस्तुत गर्नुभएको थियो ।

स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा सङ्गठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दिननाथ घिमिरेद्वारा सङ्गठनात्मक प्रतिवेदन पेश गरिएको थियो । पेश गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय भएको घिमिरेले बताउनुभयो ।

महाधिवेशनले अहिलेको बेलायती शैलीको संसदीय प्रणाली नेपालमा असफल भई सकेकाले यसको खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रप्रमुख बनाउनुपर्ने निर्णय गरेको छ। विधान संशोधन गरी सानो आकारको मन्त्री परिषद्को व्यवस्था हुनुपर्ने भनेको छ।

यस्तै संसदीय निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने मालेले विधानमा उल्लेख गरेको छ। विधिको आधारमा दल चल्नुपर्ने, नेपाली मोडलको सङ्घीयता कायम गरी प्रदेश खारेज गर्नुपर्ने मालेको मुख्य माग रहने गरी महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले सात सदस्यीय वरिष्ठ कम्युनिष्ट सदस्य कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ।

Back to top button