अमेरिकी र चिनियाँ राष्ट्रपतिबिच भर्चुअल बैठक सम्पन्न

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल बैठक भएको छ । बैठकमा राष्ट्रपति बाइडेनले सी जिनपिङसँग ताइवानको स्थितिमा कुनै प्रकारको एकतर्फी परिवर्तनको अमेरिकाले विरोध गर्ने बताउनुभएको छ ।

समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै बिबिसिले सी जिनपिङले राष्ट्रपति बाइडेनलाई ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु आगोसँग खेल्नु सरह भएको र जसले आगोसँग खेल्छ ऊ जल्ने भन्दै चेतावनी दिनुभएको उल्लेख गरेको छ ।

बैठकपछि ह्वाइट हाउसले प्रेस वक्तव्य जारी गर्दै अमेरिका एक चीन नीतिमा प्रतिबद्ध भएको उल्लेख गरेको छ । एक चीन निति मान्ने देशले ताइवान चीनको हिस्सा भएको मान्यता राख्छ ।

अघिल्लो महिना बाइडेनले चीन यदि ताइवानमाथि हमला गर्छ भने अमेरिकाले ताइवानको बचाउ गर्ने बताउनुभएको थियो । दुई नेताबीचको यो बैठक ताइवान, व्यापार र मानवअधिकारको मुद्दामा जारी तनावबीच भएको हो ।

सी जिनपिङलाई राष्ट्रपति बाइडेनले भन्नुभएको छ, हाम्रो प्रतिद्धन्द्धलाई संघर्ष तर्फ जान नदिन दुवै देशको जिम्मेवारी हो ।’ जनवरीमा अमेरिकाले सत्ता सम्हालेपछि बाइडेन र सी जिनपिङको यो वार्ता निकै ठोस् मानिएको छ ।

चिनियाँ विदेशमन्त्रीका प्रवक्ता हुआ चुनयिङले दुई नेताको वार्ता निकै रचनात्मक र लाभकारी रहेको बताउनुभएको छ । यसले आपसी समझदारी बढाउन मद्दत गर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

Back to top button