नेदरल्यान्ड विश्वकपमा स्थान सुरक्षित बनाउन सफल

काठमाडौं । कतार विश्वकप २०२२ को युरोप छनोट अन्तर्गत समुह ‘जि’ मा रहेको नेदरल्याण्ड नर्वेमाथि २–० गोल अन्तरको जित निकाल्दै विश्वकपमा स्थान सुरक्षित बनाउन सफल भएको छ ।

२०१८ को विश्वकपमा छनोट हुन असफल रहेको डच टिमले यो पटक भने समूहमा १० खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा रहेर छनोटमा स्थान सुरक्षित गरेको हो ।

नेदरल्यान्डका लागि स्टेभिन बर्जविन र मेम्फिर डिपेले समान एक/एक गोल गरेपछि उसको विश्वकपमा स्थान सुरक्षित भएको हो । यसअघि टर्कीले मोन्टेनेग्रोमाथि २–१ को जित हात पारेपछि नेदरल्यान्डमाथि जित निकाल्नै पर्ने दबाब बढेको थियो।

यद्यपि अधिकांशका समय गोलरहित बराबरीमा रहेको खेलमा ८४औं मिनेटमा बर्जविनले नेदरल्यान्डस्का लागि गोल खडेरी टार्दै टीमलाई अग्रता बनाएका थिए। इन्जुरी समयमा डिपेले नेदरल्यान्डस्को अग्रता दोब्बर पारेपछि टर्कीलाई पछि पार्दै नेदरल्यान्ड छनोट हुन सफल रह्यो ।

१० खेलबाटै २१ अंक जोडेको टर्की दोस्रो स्थानमा रह्यो। टर्कीले कतार विश्वकपमा स्थान बनाउन अब प्लेअफ पार गर्नु पर्नेछ। यता नर्वे भने सन् १९९८ पछि विश्वकपमा छनोट हुन सकेको छैन।

Back to top button