एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ। यस्तै विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो।

एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाएको छ । चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ। सहभागी ठूलो सङ्ख्यामा हुँदा व्यवस्थित गर्न कठिनाइ हुनसक्ने भएकाले पूर्वतयारी गरिएको हो।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागी भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन्। पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ।

मुग्लिनतर्फबाट आउने सहभागी आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ। उक्त ठाउँमा रोकिएका सवारीलाई नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने छ।

माडी, जगतपुर, गीतानगरतर्फबाट आउने सहभागी हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ। त्यस ठाउँबाट आउने सवारीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ।

भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौलीलगायत क्षेत्रबाट आउने सहभागीलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ। भरतपुर महानगरपालिका–१६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागी बेलचोकबाट जुलुसमा सहभागी हुनेछन्।

त्यहाँ आउने सवारीलाई सोही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। कालिका नगरपालिका र भरतपुर महानगरपालिका–११ तर्फबाट आउने सहभागी विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ।

पश्चिम नेपालबाट आउने सर्वसाधारणलाई गैँडाकोटबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ। पश्चिमबाट आउने सवारीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ।

जुलुसमा सहभागिताका लागि नेतृत्वकर्तालाई निर्देशनसमेत जारी गरिएको छ। उनीहरुलाई के–कसरी सहभागी गराउने, व्यवस्थित र मर्यादित बनाउने भन्नेबारे निर्देशन दिइएको हो।

नेकपा एमालेको १०औँ महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको उद्घाटनसत्र नारायणगढको नारायणी नदी किनार र बन्दसत्र सौराहाको होटल सेभेन स्टार परिसरमा हुने छ।

एमालेको १०औँ महाधिवेशनले २२५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनमा देशभरबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन्। उनीहरु बस्नका लागि सौराहास्थित क्षेत्रीय होटल सङ्घसँग तीन हजार पाँच सय जना अट्ने कोठा सम्झौता गरिएको छ।

सौराहामा ६ हजार ५०० जना अट्ने क्षमता छ। अन्य कोठा पार्टीका नेता–कार्यकर्ताले बुकिङ गरिसकेको सङ्घले जनाएको छ। प्रतिनिधिभन्दा बढी महाधिवेशन घुम्न र हेर्न आउनेहरू हुने अनुमान गरिएको छ।

Back to top button