नेपाल रेडक्रस सोसाईटी मोरङले थाल्यो गतिविधि

विराटनगर : नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको नव गठित तदर्थ समितिले आफ्नो गतिविधि शुरु गरेको छ । कर्मचारीसँग छलफल गरि नेतृत्वले आफ्ना दायीत्वहरु पूरा गर्न औपचारिक रुपमा काम थालेको हो ।

जिल्ला शाखाको पुरानो समिति भङ्ग गरी गत मंगलबार मात्रै तारानाथ भट्टराई सभापति रहेको १५ सदस्यीय नयाँ समिति गठन भएको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले मोरङ शाखा समितिलाई भङ्ग गरी भट्टराईको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो ।

विभिन्न अनियमित कार्य गरेको भन्दै मोरङ शाखा समितिलाई भङ्ग गर्न रेडक्रस सरोकार समूहले एक दशकदेखि दवाव दिंदै आएको थियो । समितिको उपसभापतिद्वयमा केदार थापा र रमा रिजाल, मन्त्री (सचिव) श्याम पौडेल, कोषाध्यक्ष प्रयाग न्यौपाने, उपमन्त्री नन्दराज गिरी, उपकोषाध्यक्ष विजयहरि खतिवडा रहनुभएको छ ।

यस्तै सदस्यहरूमा राजकुमार राजवंशी, राधिका कोइराला, सावित्री आचार्य, गणेशप्रसाद यादव, ढुनादेवी गुरागाईं, आइतकुमारी लिम्बू, नारायण घिमिरे र नारायण वाग्ले (ध्रुव) रहनुभएको छ ।

नेपाल रेडक्रसका केन्द्रीय अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाका अनुसार मोरङ शाखाले आफ्नो वैधानिक दायित्व पूरा नगरेकोले नेपाल रेडक्रसको प्रचलित विधानको दफा १७ (क) ले व्यवस्था गरेअनुसार पुरानो समितिलाई भङ्ग गरेको जानकारी दिनुभयो ।

Back to top button