
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ‘घरघरमा एमाले’ अभियान सुरु गरेको छ । संगठन विस्तार तथा सम्बन्ध नविकरण गर्दै जनताको गुनासो सुन्न महानगरका प्रत्येक घर टोलमा पुग्ने गरि अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत आज विराटनगर– १८ भेडियारी क्षेत्रका स्थानीयसँग छलफल गरिएको एमाले महानगर अध्यक्ष सागर थापाले बताउनुभयो ।
कोभिडपछि जनताको अवस्था, विकास निर्माणलगायतका विषयमा छलफल गर्न सुरु गरिएको अभियानलाई सबै वडामा पुर्याउने उहाँको भनाई छ ।
विराट राजाको दरबार रहेको भेडियारी क्षेत्रमा दरबार संरक्षणमा महानगरले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । यस्तै विकासमा पछि परेको १८ नम्बर वडालाई महानगरको स्तरसम्म पुर्याउन स्थानीयले महानगर कमिटीको ध्यानकर्षण गराएका छन् ।
घर–घर पुगेर सर्वसाधारणसँग छलफल गर्दै महानगर अध्यक्ष थापाले विराटनगरको विकासमा एमालेको अर्जुनदृष्टि रहेको बताउनुभयो । विराटनगरको विकासका लागि छिट्टै हुने निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन समेत उहाँले आग्रह गर्नुभयो । सीमा क्षेत्रको दशगजाबाट एमालेले घरदैलो गरेको थियो ।