सर्वोच्च गोलाप्रथामा जाने अन्तिम तयारी

काठमाडौं । सर्वोच्च अदालतका बहुमत न्यायाधीशले सर्वोच्चको पूर्ण बैठकको माग गर्नुभएको छ । हिजो सर्वोच्च अदालतका चौध न्यायाधीश (दुई न्यायाधीश बिदामा तर सहमति) को बैठकबाट तत्काल फुलकोर्ट बोलाउने निर्णय भएसँगै मुख्य रजिस्ट्रारलाई सो को जानकारी गराइएको छ ।

न्यायपालिका सुधारको माग गर्दै तीन साताभन्दा लामो समयदेखि इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरूले तत्काल सर्वोच्चको पूर्ण बैठक बोलाएर सर्वोच्च अदालत नियमावली संशोधन गरी गोलाप्रथामा जानुपर्ने निष्कर्ष निकालेका हुन् ।

जनताका मुद्दा नहेरी लामो समय आन्दोलनमा जाँदा त्यसले नकारात्मक सन्देश जाने भन्दै नियमावली संशोधन गरी गोलाप्रथामा जाने प्रयोजनका लागि फुलकोर्ट बोलाउन लगाइएको हो ।

बैठक बोलाउन प्रधानन्यायाधीशसमेत सकारात्मक रहेको बताइएको छ । यसअघि गत आइतबारसम्म सर्वोच्च १९ जना न्यायाधीश नै एक ठाउँमा उभिएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायालय शुद्धीकरणमा एकाकार भएको सन्देश दिएका थिए ।

यद्यपी सोमबारदेखि पाँचजना न्यायाधीशले लामो समय जनताको मुद्दा नहेरी बस्न नहुने भन्दै असन्तुष्ट न्यायाधीशको समूहबाट विद्रोह गरेका थिए । तर उनीहरूको माग पनि तत्काल फुलकोर्ट बसेर नियमावली संशोधन गरी गोलाप्रथाबाट पेसी तोकिनुपर्ने माग थियो ।

फुलकोर्ट वैठकमा सहभागी हुने र गोलाप्रथाबाट पेसी तोक्ने सम्बन्धमा आफूहरूको पूर्ण साथ र समर्थन रहेको सन्देश पनि उनीहरूले दिइसकेका छन् ।

Back to top button