कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ। क्रियाशील सदस्यताको विषय टुंगो लाग्न नसक्दा रोकिएको तल्लो तहको अधिवेशन कात्तिक २७ गतेबाट सुरु भएको हो ।

अधिवेशन हुन बाँकी जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको निर्वाचन समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले जानकारी दिनुभयो । १३ वटा जिल्लामा सबै तहको अधिवेशन गरिसके पनि बाँकी जिल्लाले भने अहिलेसम्म पालिका तहको अधिवेशन मात्रै सम्पन्न गरेका छन्।

आन्तरिक विवादका कारण केहि जिल्लामा पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ भने केहीमा आन्तरिक सहमतिमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन एकैदिन गर्ने सहमति भएको छ।

४ जिल्लामा विवादको कारण प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन स्थगित भएको छ भने बाँके जिल्लामा आज हुनेछ। कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र केन्द्रीय महाधिवेशन मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुनेछ।

यसैबीच निर्वाचन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा आजदेखि सुरु हुने प्रदेशसभा क्षेत्र अधिवेशनबारे थप छलफल गर्ने अधिवक्ता रावलले जानकारी दिनुभयो ।बैठकमा बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि भइरहेको वडा अधिवेशनको बिषयमा पनि छलफल हुनेछ।

यस्तै विभिन्न जिल्लाबाट आएका उजुरी र निर्वाचन हुन नसकेका ठाउँमा समन्वय गर्नेजस्ता कार्यका लागि निर्वाचन समितिको बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो ।सिन्धुपाल्चोकमा २ वटा वडामा अधिवेशन हुन सकेको छैन। रसुवामा पनि केही वडामा अधिवेशन हुन बाँकी।

Back to top button