शिक्षामन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज स्वदेश फर्किनु भएको छ । युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल बिहान स्वदेश फर्किनु भएको हो ।

उहाँले आफूले महासभामा महामारीको समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको विषयमा सम्बोधन गरेको जानकारी दिनुभयो ।

कोभिडको माहामारीले शिक्षामा डिजिटल डिभाइसको महत्त्वको बारेमा सोच्न बाध्य बनाएको विषयमा कुरा राखेको छु, उहाँले भन्नुभयो, ‘ नेपालको शिक्षा अभिवृद्धि गर्न युनेस्कोलगायतको संस्थाहरूलाई लगानी गर्न आग्रह गरेको छु ।

शिक्षा, स्वास्थ्य, लैंगिक समानता र महिला सशक्तिकरण जस्ता प्रमुख क्षेत्रहरूमा नेपालले महत्त्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै मन्त्री पौडेलले दीगो विकासका लक्ष्यहरूलाई अपनाएको जानकारी गराएको बताउनुभयो ।

उहाँले फ्रान्स बसाइका क्रममा नेपाली समुदायले आयोजना गरेका अन्य केही कार्यक्रममा समेत सहभागी हुनुभएको थियो ।

Back to top button